गुल्मीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु, पाल्पामा जिप दुर्घटनामा दुई जना घाइते

केन्द्रभाग मिडिया

गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा जिल्लाको मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियार रहेका छन् । तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्रयाक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए ।

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित झिरुबासमा बिहीबार जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

भुवनपोखरीको अमिलेबाट जिल्लाको सदरकुमाम तानसेनतर्फ आउँदै गरेको लु१ज २१६९ नम्बरको जिप बिहान दुर्घटना हुँदा अमिलेका ५९ वर्षीया जुनकला पोखरेल र ४६ वर्षीया कमला आले घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनका अनुसार जुनकलाको अवस्था गम्भीर छ। उनको टाउकोमा चोट लागेको छ। घाइते दुवैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

ओरालो सडकमा रोकेर सामान झार्ने क्रममा जिप एक्कासि गुडेर दुर्घटना भएको थापाले बताए। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • १२ श्रावण २०७९, बिहीबार १२:५६ प्रकाशित