आज यी जिल्लामा भारी वर्षा : यी नदीमा आकस्मिक बाढी आउन सक्ने (नामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कास्कीसहित देशभरका जिल्लामा मनसुन सक्रिय भएको छ ।

गएराती देखिनै पोखरासहित देशका अधिकांश स्थानमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो ।

सो क्षेत्र भएर बग्ने रिउखोला र अन्य खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।

गण्डकी प्रदेशको लमजुङ,तनहुँ, बागलुङ, म्याग्दी लगायतका जिल्लामा रहेका नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने भन्दै महाशाखाले सचेत रहन सुझाव दिएको छ ।

बिहीबार देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • १२ श्रावण २०७९, बिहीबार ०९:११ प्रकाशित