काठमाडौं ।
सरकारले सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा पर्यटन क्षेत्रको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आइतबार कार्ययोजना सार्वजनिक गरे ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिएको बताए । उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि बताए । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताए ।
मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ । मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ ।
प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ ।














