पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताएका छन् । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हुलाक टिकट मार्फत देशको सभ्यता जोगिएको छ । कला, संस्कृतिको संरक्षण गर्दै एतिहासिक महत्वका विषयवस्तुलाई टिकट मार्फत झल्किाउनु आफैमा महत्वपूर्ण काम हो । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले एतिहासिक महत्व बोकेका टिकटहरुलाई संकलन गरी संरक्षण गरेको काम प्रशंसनिय छ’, उनले भने ।
मन्त्री थापाले हुलाक टिकटहरुको संग्रह गरी पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । देश विदेशका विभिन्न टिकटहरुलाई संकलन गरी त्यसको महत्व दर्शिने गरी संग्राहलयको निर्माण गर्नुपर्ने र पर्यटक आकर्षणको नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।
पश्चिमाञ्चल फिलाटेलिक समाजले गरेका कामप्रति गण्डकी सरकार समेत साथमा रहेको प्रतिबद्धता मन्त्री थापाको छ । उनले प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा प्राडा यामबहादुर पौडेलले सोसाइटीले विश्वभरको सभ्यतालाई संरक्षण गर्ने दायित्वका साथ अगाडि बढीरहेको देख्दा खुशी लागेको बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनील शाहीले हुलाकका टिकटले देश बोकिरहेको धाराणा राखे ।
डा.कुश्माकर न्यौपानेले सतकर्म गरेर जिउनु नै मानवीय धर्म भएको उल्लेख गर्दै तिरस्कार गरिएका चीजहरुलाई जोगाउने कार्य आफैमा महत्वपूर्ण भएको बताए ।
क्षेत्रीय हुलाक निर्देशनालयकी साधना श्रेष्ठले टिकटले सामाजिक, सांस्कृति, प्राकृतिक गतिविधिलाई सजीव राख्न काम गरिरहेको उल्लेख गरे । प्राडा इन्द्र प्रसाद तिवारीले हुलाकका टिकटमा नै देशको पहिचान छुपेको र संरक्षण गर्ने दायित्व सबैको बताए ।
सोसाइटीका सचिव तुलसीराम खड्काले देश तथा विदेशमा छापिएका टिकटहरुको विषयमा जानकारी गराए । कार्यक्रम सोसाइटीका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।














