जागिरको बहानामा कार्यकक्षमै बोलाई उपमेयरले गरे बलात्कारको प्रयास

केन्द्रभाग मिडिया

बलात्कारको प्रयास गर्ने लहान नगरपालिकाका उपमेयर रामचलितर महतो

जनकपुरधाम ।

सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलामाथि बलात्कारको प्रयास गरेको घटना बाहिर आएको छ । महतोले जागिरको बहानामा आफ्नो कार्यकक्षमै बोलाएर बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको हो।

पीडित महिलाले ईलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतो विरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय लहानको अनुसार उपमेयर महतो विरुद्ध एक महिलाले हिजो (बिहीबार)जाहेरी दिएकी छिन् ।नगरपालिकाले केही दिन अगाडि दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन आह्वान गरेको थियो । ति पदमा फारम भरेकी महिलालाई जागिर लगाइदिने भन्दै कार्यकक्षमै बोलाएर उपमेयर महतोले बलात्कारको प्रयास गरेको बताइएको छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि उपमेयर महतो सम्पर्क विहिन बनेका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरकेको छ ।महतो जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका हुन् ।

  • ६ श्रावण २०७९, शुक्रबार १०:५३ प्रकाशित