आज १७ औं संस्करणको रोपाई महोत्सव गरिँदै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा पर्यटन परिषद्को अयोजनामा पोखरामा आज १७ औं संस्करणमा रोपाई महोत्सव हुँदैछ । यस वर्ष पोखरा २५ हेम्जामा महोत्सव हुने भएको छ । पोखरा २५ टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औ असारे महोत्सव गरिने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिएका छन् ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाईने अध्यक्ष भट्टराईले बताए । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिनपनि महोत्सव फलदाई हुने उनले अपेक्षा गरेका छन् ।

उनले खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको बताए । रोपाइँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

रापाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगाएतका कार्यक्रमहरु हुने १७ औ असारे रोपाई महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

साउने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमस ७ हजार र ५ हजार रुपैया पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्ने श्रेष्ठले जानकारी दिए । महोत्सव सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च लाग्ने आयोजक अनुमान छ । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दावी छ ।

  • १५ असार २०७९, बुधबार ०७:१८ प्रकाशित