पोखरा ।
यही वैशाख ३० हुने आसन्न स्थानीय तह निर्वाचनका लागि गण्डकी प्रदेशमा सबै तयारी पुरा भएको छ । प्रदेशका ११ वटै जिल्लामा मतदानका लागि आवश्य तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालयले गण्डकीले जानकारी दिएको छ । प्रदेशका ११ जिल्लामा एक हजार २५३ मतदान स्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको छ ।
ती मतदान केन्द्रमा दुइ दिन पहिले मतदान अधिकृतसहितको टोली आवश्यक सामाग्री लिएर पुगसेका छन् । मतदान अधिकृतहरुले आफ्नो मतदान स्थलमा स्थानीय स्तरमा राजनीतिक दलहरुसंग समन्य र आवश्यक भौतिक तयारी पुरा गरीसकेको निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलेले बताए ।
त्यस्तै मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण सुनिश्चित गरिएकाले ढुक्कसंग मतदानमा सहभागी हुने निर्वाचन आयोगले सूचना जारी गरेको छ । मौन अवधि सुरु भए पछि आचारसंहिता उल्लंघनका केही घटना देखिए पनि अवस्था सामान्य छ ।
मतदानको दिन पानी पर्न सक्ने भन्दै आयोगले मतदान अधिकृतलाई आवश्यक तयारी गर्न निर्देशन गरेसगै मतदान केन्द्रमा त्रिपाल र पलास्टिले मत पत्र र मतपेटिका सुरक्षित गर्ने व्यवस्था मिलाइएको छ ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदान स्थलमा नेपाल प्रहरी र म्यादी सहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना पनि छुट्टै रुपमा खट्ने गण्डकी प्रदेश प्रहरी कार्यालयका निर्वाचन सेल प्रमुख मिन बहादुर घलेले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा ६ हजार ३ सय प्रहरी र १० हजार ९ सय म्यादी प्रहरी बुथ सुरक्षाका लागि खटिएका छन् । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदान स्थलसहित प्रत्येक पालिकामा सिभिल ड्रेसमा प्रहरी र मानवअधिकार सहितको अनुगमन टोली तथा स्वयंसेवकहरु परिचालन गरिसकिएको छ ।
मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था बनाइएको छ, भने निजी तथा सार्वजनिक सवारी पुर्ण रुपमा बन्द गरिएको छ निर्वाचनको दिन पास लिएका सवारी साधन मात्र सञ्चालन हुने छन् । गण्डकीका ८५ स्थानीय तहमा १६ लाख ६२ हजार २४६ मतदाता छन् ।