पोखरा ।
पोखरा महानगर–२८ मा गठबन्धनले प्रचार प्रसारको अन्तिम दिन र्याली निकालेको छ । गठबन्धनका उम्मेदवारलाई भोट माग्दै सुर्के मैदानबाट सुरु भएको र्याली कालीकामा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा उम्मेदवार, कार्यकर्ता र गठबन्धनका जिल्ला स्तरका नेताको सहभागीता रहेको थियो ।
र्याली पछि कालिकामा आयोजित कोणसभामा बोल्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता श्रीकृष्ण लामिछानेले गठबन्धनको जित निश्चित भएको बताए । लामिछानेले बहुमत जनताको मतदानले यस पटक गठबन्धनका उम्मेदवार बिजयी हुने दाबी गरे । र्यालीमा सहभागी जनसहभागीताले पनि जित निश्चित गरेको उनले बताए ।
कोणसभालाई सम्बोधन गदै नेकपा एकिकृत समाजवादीका कास्की जिल्ला सदस्य ठाकुर प्रसाद पौडेलले प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले जित्नुको विकल्प नभएको बताए । पौडेलले पोखरा महानगरको नेतृत्व र सबै वडामा गठबन्धनका उम्मेदवार विजयी हुने दावी समेत गरे । गठबन्धनका तर्फबाट सक्षम उम्मेदवारले मौका पाएकाले पनि यस पटक पोखराले चाहेको परिवर्तन सम्भव हुने उनले ठोकुवा गरे ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकाल लामा गुरुङले गठबन्धनका उम्मेदवारालाई विजयी गराउन मतदातालाई आग्रह गरे । गठबन्धनको जितले वडानम्बर २८ को मुहार फेर्ने उनले बताए ।
मंग्लबार राती १२ बजेदेखी चुनाव प्रचार प्रसारको समय सकिदै छ । चुनवी प्रचार प्रसारका कार्यक्रम गर्न पाइने छैन भने, सामाजिक संजालमा समेत प्रचार गर्न नपाइने भन्दै निर्वाचन आयोगले कडाई गरेको छ ।














