काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले मतदानको दिन देशभर वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएपछि निर्वाचन आयोगले तयारी गर्न सबै पालिकालाई आग्रह गरेको छ ।
निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न आग्रह गरेको छ ।
‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने निर्णय भएको छ’, प्रवक्ता शालिग्राम पौडेलले भने ।
यसको समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको पनि उनले जानकारी दिए।