गृहमन्त्री खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

केन्द्रभाग मिडिया

रुपन्देही ।

गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका(२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् ।

गृहमन्त्री खाणले निर्वाचन आचारसंहिता विपरित रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ । गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका-८ मा काँग्रेसको घरदैलोमा सहभागी भएका थिए । बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा उनी घरदैलोमा सहभागी भएका हुन् ।

उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ । आचारसंहिता विपरित गृहमन्त्री काँग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका थिए । यस्तै काँग्रेस उम्मेदवार खाणले निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको हो ।

  • २२ बैशाख २०७९, बिहीबार १५:३७ प्रकाशित