पोखरा ।
पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षपछि आफुहरुले पोखरेलीलाई सुन्दर पोखरा उपहार दिने प्रतिवद्धता व्यक्त गरेकी छिन्।
गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत आज वडा नम्बर १७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाभाटले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन्। ‘वैशाख ३० गते तपाईंहरुले हामीलाई मत दिनुहोस्, त्यसपछि हामीले तपाईंहरुलाई सुन्दर पोखरा दिनेछौं ।’ उनले भनिन्
पोखरा महानगरपालिकाको वर्तमान नेतृत्व जस्तो आफुहरु लोभीपापी नभएको भन्दै उनले आफूहरुको एकमात्रै मिसन भनेको सुन्दर र हराभरा पोखरा बनाउने हो, हँसिला पोखरेली बनाउने रहेको बताए ।
‘उपमेयर भएर मलाई घर चलाउनु छैन, छोराछोरी पाल्नु छैन त्यसैले मेरो २४ सै घण्टा पोखराका जनताको सेवामा वित्छ ।’ उनले भनिन्
उनले राजनीति र समाजसेवामा आफ्नो लामो अनुभव भएको बताउँदै त्यो अनुभवलाई कार्यान्वयन गर्न आफुले उपमेयरमा उम्मेदवारी दिएको बताए ।
नेकपा एमाले नेतृत्वको पोखराको टोलीले पोखरालाई विकास गर्न भन्दा पनि दोहन गर्न ध्यान दिएको आरोप लगाउँदै उनले अबको पाँच वर्ष पोखराको विकासको वर्ष भएको बताए।
लोकतन्त्र, संविधान र पद्दती जोगाउन अहिलेको पाँच दलीय गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै जानुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य श्रीनाथ बराल, नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य बृन्दादेवि रानामगर, नेपाली काँग्रेसका क्षेत्रीय सभापति दीपक आचार्य, वडा अध्यक्षका उम्मेदवार देवराज आचार्य लगायतले प्रतिगमनलाई परास्त गर्न तथा लोकतन्त्रको रक्षा गर्न गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने विचार व्यक्त गरेका थिए ।














