१० वस्तुको आयात रोक्दा साढे दुई महिनामा २६ अर्ब रुपैयाँ बच्छ : मन्त्री बडु

केन्द्रभाग मिडिया

काठमाडौं ।

दश प्रकारको वस्तुको आयात रोक्दा असार मसान्तसम्ममा २६ अर्ब रुपैयाँ बच्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

मन्त्री बडुले एक न्यूज अनलाइनलाई दिएको अन्तरवार्तामा विज्ञहरू सम्मिलित कार्यदलले साढे २ महिनामा २६ अर्ब रुपैयाँ बाहिरिनबाट रोक्ने प्रक्षेपण गरेको बताएका छन्।

कार्यदलमा योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैङ्कका प्रतिनिधि, अर्थ सचिव, वाणिज्य सचिव, कृषि र वन सचिव तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र लगायतको सहभागिता थियो । मन्त्री बडुको अनुसार यो कार्यदलले गरेको अध्ययनले नेपालमा आयात नभए पनि हुने वस्तुको सूची तयार पारेपछि ती वस्तुको सूचीमा थप अध्ययन गरेर निर्णय लिइएको हो ।

विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित सरकारले यही वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि लागू हुने गरेर १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

सरकारले स्मार्टफोन, कुरकुरे, कुरमुरे, लेज, सम्पूर्ण तयारी मदिरा , चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा (कच्चा पदार्थ बाहेक), ३२ इन्चभन्दा माथिका टेलिभिजन, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र तासको आयात रोक्ने निर्णय गरेको छ ।

यस्तै, यही बीचमा पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउनेभन्दै सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय समेत सरकारले गरेको छ ।

  • १९ बैशाख २०७९, सोमबार ०९:०१ प्रकाशित