काठमाडौं ।
काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) बाट मेयरमा उमेदवारी दिएका केशव स्थापितलाई कारबाही गर्न माग गरिएको छ । विभिन्न ४५ वटा संघसंस्थाले स्थापितलाई कारबाहीका लागि माग गरेका छन् ।
सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेको उनीमाथि आरोप लागेको छ । एक सार्वजनिक कार्यक्रममा ‘मी टू’ आरोपसँग जोडेर प्रश्न गरेपछि युवतीमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै स्थापितलाई कारबाही गर्न माग गर्दै ओरेक नेपालसहित ४५ वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
आफूलाई प्रश्न गर्ने युवतिमाथि उनले अपमानजनक र अमानवीय व्यवहार गरेको तथा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाइएको छ । स्थापितको मेयरको उमेदवारी रद्द गर्न पनि नेकपा एमालेसँग विज्ञप्तिमा माग गरिएको हो ।














