कांग्रेसका तिवारी र सापकोटाले फिर्ता लिए बागी उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् ।

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् । उनी पनि कांग्रेसकै नेता हुन् । अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् ।

महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने नेकपा माओवदी केन्द्रका पोखरा महानगरपालिका इन्चार्ज दीपक कोइरालाले बताए ।

वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन नसकेपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने समझदारी गरेको हो ।

  • १६ बैशाख २०७९, शुक्रबार १७:३६ प्रकाशित