पाँच वर्ष सेवा गर्छु, फेरि चुनावमा प्रतिस्पर्धा गर्दिन : मेयर उम्मेदवार थापा

केन्द्रभाग मिडिया

 

पोखरा ।

नेकपा एमालेबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले निर्वाचित भएपछि पाँच वर्ष पोखरेली जनाताको सेवा गर्ने र फेरि चुनावमा उम्मेदवार नबन्ने बताएका छन् । आज देखि सुरु चुनावी प्रचार अभियानका क्रममा वडा नम्बर १६ को जोगीमणिमा घरदौलोसहित भएको कोणसभालाई सम्धोन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी पार्टीको बफादार सिपाही हो, पार्टीले देश र जनताको लागि मर्न तयार हुनु पर्दछ भन्यो भने पनि तयार हुनु पर्दछ,’ थापाले भने,‘ विषम परिस्थितिमा पार्टीले प्रमखको उम्मेदवार बनाएको छ, त्यसैले यो मेरो अन्तिम चुनाव हो, फेरि चुनाव लड्दिन ।’ स्थानीय तह चुनावमा आफूहरु जनताको प्रतिनिधि पात्रको रुपमा उम्मेदवार भएको थापाको भनाइ छ । ‘भौतिक रुपमा मेरो उम्मेदवारी भएपनि, यो उम्मेदवारी आम पोखरेली जनताको रुपमा मैले लिएको छु,’ थापाले भने,‘ प्रमुखमा निर्वाचित भएपछि पाँच वर्ष पोखराको विकास र पोखरेली जनताको हितमा देखिने गरी काम गर्नेछु । ’

थापाले नेपालमा बहुदलीय व्यवस्था स्थापानापछि बितेको पाँच वर्षमा सबै भन्दा धेरै विकास र पूर्वाधार निर्माण भएको र यसको नेतृत्व एमालेले गरेको दाबी गरे ।

२०७४ को निर्वाचिनमा पोखरामा निर्वाचित प्रमुख मानबहादुर जिसीसहितको टिमले संघियता कार्यान्वयनको जग बलियो बनाएको थापाले बताए । ‘ संघियताको जग बसेको छ,’ थापाले भने,‘ त्यही जगमा टेकेर समृद्ध पोखरा र जनतालाई सुशासनको अनुभूति हुने गरी काम गर्नेछु ।’

सेवासुविधा सामाजिक कार्यमा लगाउने घोषणा

पोखरा महानगर उम्मेदवार थापाले मेयरमा निर्वाचित भएपछि पाउने सेवा, सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताए । ‘जनप्रतिनिधि जनताको सेवक हो शासक होइन,’ थापाले भने,‘ जनप्रतिनिधिका रुपमा पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्नेछु ।’ उम्मेदवार थापाले एमालेबाट फुटेर गएकाले आफू एमाले मै छु भनेर भोट मागेकोले त्यस्तो भ्रममा नपर्न उनले नेता, कार्याकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले पाँच वर्षमा पोखरामा जनप्रतिनिधिले गरेको विकास निर्माण घाम झै छर्लङग भएको बताइन् । महानगरमा सफल रुपमा उपप्रमुखको जिम्मेवारी निर्वाह गरेकी गुरुङले संघियतालाई कार्यान्वयन तहमा लैजान यो पाँच वर्ष कोषेढुंगा सावित भएको बताइन् । यो पाँच वर्षमा जनताले महसुस गर्ने र देखिने गरी विकास निर्माण भएको गुरुङको भनाइ छ । विकास निर्माणसँगै पोखरालाई समृद्ध बनाउन एमालेकै नेतृत्व आवश्यक छ,’ उनले भनिन ।

वडा नम्बर १६ का अध्यक्षका उम्मेदवार राजेश गुरुङले एमालेको नेतृत्वमा मात्र विकास र समृद्धि सम्भव भएको बताए ।

  • १६ बैशाख २०७९, शुक्रबार १७:१० प्रकाशित