पोखरामा गठबन्धनको घोषणा पत्र : फेवा- बेगनास कनेक्टिङ मेट्रो देखि चौपाया विहिन पोखराका सडकसम्म

केन्द्रभाग मिडिया

पोखरा ।

पाँच दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरका लागि साझा उम्मेदवार धनराज आचार्यले गठबन्धनको तर्फबाट बिहीबार साझा घोषणा पत्र सार्वजनिक गरेका छन् ।

पाँच दलका नेताहरुद्धारा साझा रुपमा सार्वजनिक घोषणापत्रमा पोखराको फेवा तालदेखि बेगनास तालसम्म कनेक्टिङ मेट्रो सञ्चालन देखि पोखरा रिङरोड र विमानस्थल देखि लेकसाइडसम्म फास्ट ट्रयाकसम्मका घोषणा गरिएको छ ।

मेयरका उम्मेदवार आचार्यले फेवा देखि बेगनास १० किलोमिटर क्षेत्रमा कनेक्टिङ मेट्रो सञ्चान गर्ने र त्यसले पर्यटकको बसाईलाई थप एक दिन लम्ब्याउने दाबी गरे । उनले रिङरोडको सम्भावित अध्ययन सकेर कामको सुरुवात गर्ने बताए ।

रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले गरेको अध्ययन अनुसार ८४ किलोमिटर रिङरोड बन्ने सम्भाव्य अध्ययनले देखाएको छ । उनले रिङरोडलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गसँग जोड्दै बाईपासको रुपमा प्रयोग गर्न सकिनेगरी बनाइने योजना सुनाए। बाईपास रोडले पोखरा बजारभित्र सवारी साधनको चाप घटाउन मद्धत पुग्ने उनको भनाई छ ।

गठबन्धनको घोषणापत्रमा फेवाताल सौन्दर्यकरण गर्नुका साथै फेवातालमा मिसिने ढललाई बाइपास गरेर तालमा मिसिन नदिई अन्यत्र व्यवस्थापन गर्ने उल्लेख छ । मेयर आचार्यले विभिन्न तथ्यांक प्रस्तुत गर्दै पोखराको ६०९ किलोमिटर सडक खण्ड कच्ची र धुलाम्मे हुँदा स्थानियले दुःख पाएको हुँदा अब त्यहाँ सडकको स्तरोन्नती गरेर कालोपत्रे गरिने बताए ।

उनले आफू मेयर हुन सफल भएमा आफ्नो पाँच वर्षे कार्यकालमा १ हजार ५ सय ३५ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने प्रतिबद्धता जनाए । ‘सम्मुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ नाराका साथ आएको घोषणा पत्रमा महानगरमा उहिलेको जिवन्त पोखरा निर्माण, पोखरा बसपार्कलाई सिटी बसपार्कको रुपमा निर्माण गर्ने लगायतका घोषणा गरिएको छ । घोषणा पत्रमा पोखराका सडकमा भिखारी र छाडा चौपाया देख्न नपाइने समेत उल्लेख छ ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार कोपिला रानाभाटले गठबन्धन स्थानीय तहको निर्वाचनमा मात्रै नभई प्रदेश र संघीय निर्वाचनसम्म जाने वातावरण निर्माण गर्नका लागि अहिलेको गठबन्धन बिजयी हुनुपर्ने बताए ।

उनले आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाईपनि गर्न नदिने दृढता व्यक्त गरिन् । ‘मलाई राजनीतिमा धन कमाउनु छैन,’ त्यसैले मलाई अनियमितता गर्नु छैन र गर्दिन पनि । साथै म अरुलाईपनि अनियमितता गर्ने छुट कसैलाई दिन्न । दिने छैन ‘ उनले भनिन् ।

 

  • १५ बैशाख २०७९, बिहीबार १७:०४ प्रकाशित