काठमाडौं ।
सत्ता गठबन्धनमा सहमतिमै भागबन्डा भएपनि देशका अधिकांश स्थानमा गठबन्धन भित्रबाटै वागी उम्मेदवार उठेका छन् । गठबन्धन भित्रको दलबीच भएको निर्णयविपरीत वागी उम्मेदवार दिने नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने भएको छ ।
त्यति गर्दा पनि नमाने र उम्मेदवारी फिर्ता नलिए गठबन्धनले कारबाही गर्ने भएको छ छ । त्यसका लागि दलहरूले देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्यांक संकलन थालेका छन् ।
बुधबारसम्म तथ्यांक संकलन गर्ने, त्यस्ता उम्मेदवारहरूको पहिचान गर्ने र सम्झाई–बुझाई गरेर उम्मेदवारी फिर्ता गराउने तयारी छ । फिर्ता नभए पार्टी अनुशासनको कारवाही हुने नेताहरूले बताएका छन् ।
गठबन्धनभित्र कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रबाटै गठबन्धन भएका ठाउँहरू खास गरी भरतपुर र पोखरा महानगरपालिकामा परेका स्वतन्त्र उम्मेदवारीलाई चासोका साथ लिएका छन् ।













