काठमाडौं ।
निर्वाचन पर्यवेक्षण समिति नेपालले हिजो र अस्ति भएको उम्मेदवारी दर्ताको क्रममा नै उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जनाएको छ ।
समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने सिलसिलामा ठूला राजनीतिक दलहरु लगायत अन्य क्षेत्रीय तथा साना प्रभावशाली राजनीतिक दलहरु तथा स्वतन्त्र आकांक्षीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको देखिने गरी ‘नाङ्गो उल्लंघन’ गरेको जनाएको छ ।
आचारसंहिता उल्लंघनका घटना र त्यसलाई प्रमाणित गर्ने तस्बिरहरु, भिडियोहरु समितिलाई प्राप्त भएको जनाएको हो ।‘निर्वाचन प्रयोजनमा नावालकहरुलाई प्रयोग गर्न पाइँदैन । साथै निर्वाचनमा निर्वाचन आयोगको स्वीकृति वेगर हेलिकप्टर प्रयोग गर्न पाइँदैन,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ठूला ठूला झाँकी तथा जुलुस लिएर हिँड्न पनि पाइँदैन । बाजागाजा तथा झाँकीहरु पनि प्रदर्शन गर्न पाइँदैन । मोटरसाइकल ¥याली गर्न र तोकिएका निश्चित साइजका झण्डाबाहेक ठूलो झण्डा प्रयोग गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सबै राजनीतिक दलहरुसँगको सहकार्य एवम् सहमतिमा तय गरिएका हुन् ।’
निर्वाचनको माहौल बन्दै जाँदा आम मतदाता एवम् जनसाधारणमा उल्लास र जाँगर देखिनु लोकतन्त्रको सम्वर्द्धन र प्रवर्द्धनका लागि राम्रो लक्षण भए पनि निर्वाचनमा उम्मेदवारी दर्ता गर्न दिईएको समयमा निर्वाचन आचारसंहिताको पालना गरिएको नदेखिएको समितिले जनाएको छ ।














