चुनावका लागि ८० प्रतिशत मतपत्र छापियो, आजदेखि ढुवानी

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी थाल्ने भएको छ। आगामी वैशाख ३० गते हुने चुनावका लागि हालसम्म ८० प्रतिशत छपाइ सकिएको आयोगले जनाएको छ ।

मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ । आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ ।

हिजोसम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बाँकी जिल्लाको मतपत्र छाप्ने काम भइरहेको उनले बताए। पालिका चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान छ । यसैबीच, निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ ।

  • १३ बैशाख २०७९, मंगलवार ०९:२३ प्रकाशित