काठमाडौं ।
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो अझै लगाउन सकेको छैन ।
दैनिकजसो छलफल भइरहे पनि उम्मेदवार तय गर्न नसकेको कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई सुम्पिने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।
बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि अन्ततः देउवालाई नै टिकट वितरणको अधिकार प्रत्यायोजन गरिएको हो ।
यस्तै उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने वैधानिक व्यवस्था भएकामा त्यो अधिकार पनि खोसेर देउवामा प्रत्यायोजित गरिएको छ । अब देउवाले पार्टीका तर्फबाट लड्ने मेयर तथा उपमेयरको उम्मेदवार नेताहरूसँगको परामर्शको आधारमा टुंगो लगाउनेछन् ।














