काठमाडौं ।
काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
शाहले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास, यातायात व्यवस्थापन, पानी व्यवस्थापन, फोहोर व्यवस्थापन, कलासंस्कृति देखि डिजिटल सरकार, आइडिया बैंकसम्मका कुरा उल्लेख गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने, प्राविधिक शिक्षामा जोड दिने उनले बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।
काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।
हेर्नुहोस् बालेन शाहको प्रतिवद्धता पत्रको पूर्णपाठ














