काठमाडौं ।
चार वर्षे कार्यकाल पुरा गरि सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले आजदेखि अवकाश पाउने भएका छन् ।
खनालले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अवकाश पाउन लागेका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन हुनेछ ।
खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन ।
सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ । हाल एआईजी रहेका दुई जनामध्येबाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ ।
२१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराज केसी र रामशरण पौडेलको दाबी छ । दुवै जना खनालकै ब्याच मेट हुन् । उमेर हदका कारण १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदै छन् । त्यसपछि पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने छ ।
नयाँ नेतृत्वका लागि बढुवा सिफारिस समितिले सिफारिस गर्नुपर्छ । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । तर, अहिलेसम्म बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन ।