मोरङमा प्रहरी जवानको हत्याः आज बिहानै देखि कर्फ्यू

केन्द्रभाग मिडिया

काठमाडौं ।

मोरङमा एक प्रहरी जवानको हत्या भएको छ। लेटाङ स्थित एक विद्यालयमा भएको झडप नियन्त्रणमा खटिएकी प्रहरी जवानको हत्या भएको छ।

विद्यार्थीमाथि यौन र्दुव्यवहार गरेको आरोप लागेका शिक्षक पक्राउन गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमण हुदाँ एक प्रहरी जवानको हत्या भएको हो । हत्या हुनेमा प्रहरी जवान उर्मिला श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ ।

लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी परिचालन भएको थियो।

पौडेलले आइतबार एक विद्यार्थीमाथि र्दुव्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। शिक्षक र भीडलाई नियन्त्रणमा लिन खटिएको प्रहरीलाई आक्रोशित भीडले आक्रमण गर्दा उक्त घटना भएको हो ।

आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि प्रहरीसँग झडप भएको बताइएको छ । प्रहरी श्रेष्ठको घाँटीमा भीडले छुरा प्रहार गरेको बताइएको छ। अन्य केही प्रहरी जवान र स्थानीय घाईते भएका छन् । छुरा प्रहारबाट

घाईते उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको शव कोसी अस्पतालमा राखिएको छ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरी नियन्त्रणमा लिएको छ।

आज कर्फ्यू

यस्तै आज जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ आसपासमा कर्फ्यू आदेश जारी गरेको छ।

मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा आइतबार झडपले उग्ररुप लिएपछि मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्म प्रशासनले कर्फ्यू लगाएको हो ।

जिप्रकाले लेटाङको वडा नं। ३, वडा नं।४ को पश्चिम एरिया गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको वडा नम्बर ६ को कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको छ।

  • ७ चैत्र २०७८, सोमबार ०९:५१ प्रकाशित