बक्यौता नतिर्ने सात वायुसेवा कम्पनीलाई ब्ल्याक लिस्टमा राख्ने चेतावनी(कम्पनीको नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएपछि ती कम्पनीलाई ब्ल्याक लिस्टमा राख्ने चेतावनी दिएको हो ।

रकम बुझाउन पटक९पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ ।

बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाइसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ ।

बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले ६ लाख १० हजार कस्मिकले ३ करोड ४७ लाख, स्काइलाइनले ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।

  • ६ चैत्र २०७८, आईतवार ०९:५८ प्रकाशित