भूमिहीन सुकुम्बासीलाई जग्गा बाड्न नयाँ सूचनाः १५९ स्थानीय तहमा दरखास्त आह्वान (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ । चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो ।

यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ ।

आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि सूचना निकालेको हो ।

आयोगले बिहीबार जारी गरेको सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी आजको मितिदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८ को दफा ३ को अनुसूची-१ बमोजिमको कार्य सहमतिपत्रमा हस्ताक्षर गरी कार्य प्रारम्भ गर्न चाहने स्थानीय तहहरूलाई सोही सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

यसअघि पनि आयोगले आयोगले १८ माघदेखि २८ जिल्लाका विभिन्न स्थानीय तहमा सुकुम्बासीको लगत संकलन गरेको थियो । तीमध्ये कतिपय लाभग्राहीले लालपूर्जा समेत पाउन थालिसकेका छन् ।

  • २६ फाल्गुन २०७८, बिहीबार १४:२१ प्रकाशित