सिक्लेसमा महिला पर्यटन व्यवसायी मञ्च पोखराको घरबास कार्यक्रमसहितको अन्तरक्रिया

केन्द्रभाग मिडिया

सिक्लेस ।
पोखराका महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च पोखराले मादी गाउँपालिकाको सिक्लेसमा ११२ औं अन्तराष्ट्रिय श्रमिक दिवशको अवसर पारेर घरबास कार्यक्रमसहित क्षमेता अभिवृद्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दुई दिनसम्म चलेको उक्र कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशसभाका सदस्य एवं नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले मंगलबार उद्घाटन गरेका हुन् । तालिम तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सांसद गुरुङले सिक्लेस बुझेर पोखराका महिला पर्यटन व्यवसायी आउनु सिक्लेसबासीका लागि गर्वको विषय भएको बताए । उनले गण्डकी प्रदेश समग्रमा पर्यटकीय उच्च संभावना भएको प्रदेश रहेको भन्दै सहर देखि गाउँसम्म पर्यटकलाई जोड्नुपर्नेमा जोड दिए ।

सांसद गुरुङले आफू सिक्लेसबासी जनताको विकासमा लागि परेको दाबी गरे । गाउँमै उन्नत प्रबधि प्रयोग गर्दै अर्गानिक खेती गर्नुपर्नेमा उनको जोड थियो । यसरी उत्पादित बस्तु पर्यटकलाई खुवाउन सके गाउँको पैसा गाउँमै रहेने उनले बताए ।

महिला पर्यटन व्यवसायी मञ्च पोखराकी सल्लाहकार देवका पहारीले गण्डकी प्रदेश पर्यटनको क्षेत्रमा अथाहा संभावना रहेको प्रदेश रहेको बताइन् । उनले ठोस योजना बनाएर पर्यटकीय पूर्वाधार बनाइनुपर्नेमा जोड दिइन् ।

सिक्लेसको आतिथ्य सत्कारको सैलीले आफूहरु प्रभावित भएको बताउँदै उनले आफूहरु सिक्लेसको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न तयार रहेको सुनाइन् ।

नेपाल पर्यटन वोर्ड गण्डकीका अधिकृत जयशक्ति सर्राफले पर्यटकीय गन्तव्य पहिचान गर्ने र त्यसको उजागर गर्दै पर्यटक पु¥याउन पर्यटन बोर्ड व्यवसायीसंगै रहेको बताए । कोरोना कहरको विस्तारै अन्त्य हुँदै गएकाले अब आन्तरिक पर्यटकले चलाएमान हुने उनको अपेक्षा गरे । त्यसपछि विस्तारै विदेशी पर्यटकको पनि आगमन बढ्ने उनले धारणा राखे ।

महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षतामा सम्पनन कार्यक्रममा पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष कृष्णप्रसाद काफ्ले, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, महिला पर्यटन व्यवसायी मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी लगायतले बोलेका थिए ।

कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्चका सदस्य, विभिन्न पर्यटकीय संघसंस्थाका प्रतिनिधि र स्थानीय व्यवसायीसहित ७० जना भन्दा धेरैको सहभागिता थियो ।

  • २५ फाल्गुन २०७८, बुधबार १९:३८ प्रकाशित