गठबन्धनमा खटपट भएसंगै ओली फकाउन पत्नि आरजुसहित प्रधानमन्त्री देउवा बालकोटमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
एमसीसीको विषयमा सत्ता गठबन्धनमा गम्भीर खटपट भएसंगै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एमसीसी पास गर्नका लागि मनाउने कसरतमा जुटेका छन् ।

दिउसो विश्वास पात्रहरुलाई एमाले ओलीसंग खटाएका प्रधानमन्त्री देउवा सत्तारुढ गठबन्धनको बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बिहीबार बसेको गठबन्धनको बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर संसद्‍मै छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार गरेका जनाइएको छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बैठकमा एमसीसीबारे छलफल भएपनि सबैले आ–आफ्नै अडान दोहोर्‍याएको प्रतिक्रिया दिएका छन् ।

बैठकमा प्रधानमन्त्री देउवाले संसद्‍मा टेबल गर्दैमा पास गर्ने वा फेल गर्नेबारे निर्णयमा पुग्नु नपर्ने भनेका थिए । ‘पहिले संसद्‍मा पेस गरौँ । त्यसपछि यसमाथि छलफल गरेर पास फेलबारे निर्णयमा पुगौँला, भोलि पेस गरौँ, त्यही छलफल गरौँ,’ प्रधानमन्त्री देउवाको प्रस्ताव थियो ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले भने अहिलेकै अवस्थामा एमसीसी संसद्‍मा टेबल गर्नै नमिल्ने अडान लिएका थिए ।

  • ५ फाल्गुन २०७८, बिहीबार २१:३३ प्रकाशित