पोखरामा बन्दको प्रभाव न्यून, ‘६०० प्लस सुरक्षाकर्मी तैनाथ छन्,ढुक्क भएर हिडनुस्’: प्रहरी प्रवक्ता तिवारी

केन्द्रभाग मिडिया

पत्रकार रमाकान्त बाँस्तोलाको फेसबुक

पोखरा।

एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा न्यून परेको छ । पोखराका बजार तथा पसलहरु लगभग खुला रहेको छ। सार्वजनिक तथा निजी सवारीसाधन पनि चलिरहेको छ।

बजार केही खुल्ने र नखुल्ने हुदाँ सर्वसाधारण आफ्नो नियमित कामकाजमा जानका लागि अलमलमा परेका छन् । यद्यपि जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधरणलाई ढुक्क भएर आफ्नो काममा जान आग्रह गरेको छ।

बजारका मुख्य चोकचोकमा सुरक्षाका लागि प्रहरी तैनाथ रहेकाले त्रसित नबन्न र ढुक्क भएर हिड्न कास्की प्रहरी प्रवक्ता सुन्दरमणि तिवारीले आग्रह गरेका छन् । उनले भने,‘ बजारका मुख्य चोक र सडकमा ६०० प्लस सुरक्षाकर्मी तैनाथ गरेका छौँ, तपाई ढुक्क भएर आफ्नो नियमित काममा लाग्नुस।’ पोखरामा हालसम्म त्यस्तो त्रसित हुने अवस्था छैन, बन्द सामान्य मात्र छ।’

पोखरा भित्र सार्वसनिक सवारी फाट्टफुट्ट चलेको छ।

यद्यपि पोखरा महानगरभित्र चल्ने छोटा दुरीका सार्वजनिक सवारी साधन र पोखराबाट बाहिरिने लामा दुरीका सवारी ८० प्रतिशत चलिरहेको प्रवक्ता तिवारीको दाबी छ ।

आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

  • ४ फाल्गुन २०७८, बुधबार ०९:४२ प्रकाशित