नेपाल संवत् मौलिक पहिचान र सांस्कृतिक गौरवको प्रतीक : प्रधानमन्त्री शाह

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् नेपालको मौलिक समयचक्र, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचानको प्रतीक भएको बताएका छन् । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना), म्ह पूजा, गोवर्धन पूजा तथा हली तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर नेपाल संवत् प्रारम्भ गरेको उल्लेख गरेका छन् ।

उनले चन्द्रमामा आधारित नेपाल संवत्ले नेपालको मौलिक इतिहास, सभ्यता र पहिचानलाई प्रतिनिधित्व गर्ने बताएका छन् । नेवार समुदायले विशेष उल्लासका साथ मनाउने म्ह पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वसमेत प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। ‘म्ह’ अर्थात् आफ्नै शरीरको पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उनको भनाइ छ।

अष्टचिरञ्जीवीको प्रतीकका रूपमा मण्डप बनाई आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मबल अभिवृद्धि गर्नुका साथै नेवार समुदायभित्र आपसी सद्भाव, जातीय एकता र पुर्ख्यौली संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको उनले उल्लेख गरेका छन्।

त्यस्तै, गोवर्धन पूजाको पौराणिक महत्त्वसँगै कृषि संस्कृति र श्रमको सम्मानलाई पनि प्रधानमन्त्री शाहले जोड दिएका छन्। भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीको रक्षा गर्नुभएको धार्मिक मान्यतासँग जोडिएको यस पर्वमा कृषिकर्मका सहयात्री गोरुको पूजा गर्ने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले स्मरण गराएका छन् ।

भैलो र देउसीका माध्यमबाट समाजमा आत्मीयता र सद्भाव अभिवृद्धि हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन प्रेरित गर्नुपर्ने बताएका छन् ।

उनले चाडपर्वका अवसरमा आपसी रिसराग बिर्सेर सामाजिक सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउन सबैलाई आग्रहसमेत गरेका छन् । प्रधानमन्त्री शाहले नेपाल संवत् ११४७, म्ह पूजा, गोवर्धन पूजा तथा हली तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

  • २४ कार्तिक २०८३, मंगलवार ०८:०६ प्रकाशित