छाडा छाडिएका पाँच गाईबाट सुरु भएको पोखरा गौशाला (भिडियो)

जहाँ पाँच जनालाई प्रत्यक्ष रोजगारी प्राप्त छ, स्थानीय सरकारलाई सहयोग पुगेपनि छैन कुनै सहयोग

गोविन्द सुवेदी

पोखरा ।
छाडा छाडिएका स्थानीय जातका गाईको संरक्षण गर्ने उद्देश्यले पोखरामा सुरु गरिएको एउटा अभियान अहिले गौसंरक्षणको उदाहरण बनेको छ । नौ वर्षअघि पाँचवटा गाईबाट सुरु गरिएको पोखरा गौशालामा अहिले १५१ वटा गाई पुगेका छन् । तर, स्थानीय जातका गाईको संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको गौशालाले अझै पनि राज्यबाट अपेक्षित सहयोग पाउन सकेको छैन ।

टाटा कम्पनीमा कार्यरत इन्जिनियर नरेन्द्र कुँवरको परिकल्पनामा नौ वर्षअघि गौसंरक्षणको अभियान सुरु भएको हो । पोखराका विभिन्न स्थानमा स्थानीय जातका गाई छाडा छाडिएको र तिनको अवस्था दयनीय बनेको देखेपछि उनले संरक्षणको योजना बनाएका थिए। सोही योजनालाई कार्यान्वयन गर्दै पाँचवटा गाईबाट गौशाला सञ्चालन गरिएको थियो। अहिले त्यसको जिम्मेवारी ललित कुँवरले सम्हाल्दै आएका छन्। उनी विगत नौ वर्षदेखि गौशालाको सञ्चालकका रूपमा सक्रिय छन् ।

गौशालाको मुख्य उद्देश्य छाडा छाडिएका स्थानीय जातका गाईको व्यवस्थापन मात्रै होइन, हिन्दू सनातन संस्कृतिमा विशेष महत्व राख्ने स्थानीय गाईको संरक्षण र प्रवर्द्धन गर्नु पनि हो। पछिल्लो समय स्थानीय जातका गाई लोप हुँदै जान थालेपछि तिनको अस्तित्व जोगाउने अभियानका रूपमा गौशालालाई अघि बढाइएको सञ्चालक कुँवर बताउँछन् ।

ुहाम्रो उद्देश्य गाई पाल्नु मात्रै होइन, स्थानीय जातका गाईको संरक्षण गर्नु र यसको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बुझाउनु पनि हो, कुँवर भन्छन्।

विशेषगरी ओमकार परिवार र सनातन हिन्दू परम्परामा महत्व राख्ने जुरो र माला भएका स्थानीय जातका गाईको संरक्षणमा गौशालाले जोड दिएको छ। पछिल्लो समय विश्वका विभिन्न ठाउँमा गाईसँगको सम्पर्कबाट मानिसलाई मानसिक तथा शारीरिक रूपमा सहज महसुस गराउने ‘काउ हगिङ’ अर्थात् गाई स्पर्श थेरापीको अभ्याससमेत सुरु हुन थालेको छ । यस्तो अभ्यासलाई नेपालमा पनि विस्तार गर्न सकिने सम्भावना रहेको गौशालाको सोच छ।

गौशालालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयासस्वरूप दूध उत्पादन र गँड्यौला मल उत्पादनसमेत भइरहेको छ । गाईको दूध बिक्री तथा मल उत्पादनबाट केही आम्दानी भए पनि त्यसले सम्पूर्ण व्यवस्थापन खर्च धान्न सकेको छैन। गौशालामा पाँचजनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

पोखराका विभिन्न संघसंस्था र व्यक्तिहरूले गौशालालाई सहयोग गर्दै आएका छन्। स्थानीय स्तरबाट सहयोग जुटाएर संरचनाहरू निर्माण गरिएका छन् । केही संरचना टाटाको सहयोगमा बनेका हुन्। एउटा गोठमा टिनको छाना राखिएको भए पनि गाईका लागि व्यवस्थित भकारो निर्माण गर्न नसकिएको सञ्चालक कुँवर बताउँछन्। गौशालासम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पनि व्यवस्थापनमा कठिनाइ भइरहेको छ।

सबैभन्दा ठूलो चुनौती भने आर्थिक स्रोतको अभाव हो। नौ वर्षको अवधिमा राज्यका विभिन्न निकायबाट जम्मा दुई लाख रुपैयाँ मात्रै सहयोग प्राप्त भएको गौशालाको भनाइ छ। पोखरा महानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि राज्यको स्रोतसाधन परिचालन गरिरहँदा आफूहरूले भने त्यही जिम्मेवारी निर्वाह गर्दा पनि पर्याप्त सहयोग र चासो नपाएको सञ्चालकको गुनासो छ ।

ुमहानगरले गर्नुपर्ने काम हामीले गरिरहेका छौँ । सडकमा छाडिएका गाईको संरक्षण र व्यवस्थापनमा लागेका छौँ। तर, हाम्रो समस्या बुझ्न र सहयोग गर्न राज्यका निकायको पर्याप्त ध्यान पुगेको छैन,’ कुँवर भन्छन्, ‘हामीले अहिलेसम्म आफ्नै प्रयास र विभिन्न संघसंस्थाको सहयोगमा गौशाला चलाइरहेका छौँ । आगामी दिनमा राज्यको पनि ध्यान जाने र सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ ।’

छाडा चौपाया व्यवस्थापनलाई स्थानीय तहको दायित्वका रूपमा हेरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको अवस्थामा पोखरा गौशालाले नौ वर्षदेखि निरन्तर संरक्षणको काम गरिरहेको छ ।

गौशालामा रहेका गाईले प्रहरी तालिम केन्द्र र स्वास्थ्य तालिम केन्द्रको गरी करिव ९ सय रोपनी क्षेत्रफलमा चरनको व्यवस्था भएकाले गाई संरक्षणमा सहयोग पुगेको कुँबरले जानकारी दिए । ५ जना हेरालोलाई पारिश्रमिक दिन र नियमित आहारका लागि सरकार र समुदायको निरन्तर सहयोगको भने आफूहरुले अपेक्षा राखेको उनले बताए ।

  • २३ कार्तिक २०८३, सोमबार १३:२७ प्रकाशित