काठमाडौं ।
सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने फ्रक्रिया अघि बढाएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै डा. वाग्लेले आगामी तीनदेखि पाँच वर्षभित्र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने गरी भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) सँग संवाद भइरहेको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जानकारी दिए ।
सरकारले पुनर्निर्माणका लागि आवश्यक कुल रकमको करिब ८० प्रतिशत यी चार स्रोतबाट जुटाउने अपेक्षा गरेको छ । बाँकी २० प्रतिशत अन्य विकास साझेदार तथा दातृ निकायबाट जुटाउने सरकारको योजना रहेको वाग्लेले बताए ।
उनका अनुसार भारतसँग पुनर्निर्माण तथा विकास निर्माणका लागि विशेष वित्तीय प्याकेजबारे छलफल भइरहेको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यससम्बन्धी केही सम्झौता हुनसक्ने उनको अपेक्षा छ ।
चीनसँग पनि विपद्पछिको पुनर्निर्माण, आधुनिक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यापारिक नाकाको विकासबारे छलफल भइरहेको उनले बताए । रसुवा, तातोपानी र कोराला नाका जोड्ने पूर्वाधार, रेलमार्ग, सुरुङमार्ग, भायाडक्ट तथा आधुनिक भन्सार पूर्वाधार निर्माणका विषयमा चीनसँग संवाद भइरहेको उनको भनाइ छ ।
नेपालले चीनसँग जोडिएका पुराना सडक संरचनालाई सामान्य मर्मतमा सीमित नराखी आधुनिक प्रविधिसहित स्तरोन्नति गर्न चाहेको पनि उनले बताए ।
विश्व बैंक र एडीबीसँग पनि पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापनबारे सघन छलफल भइरहेको वाग्लेले जानकारी दिए । विश्व बैंकका अध्यक्षसँग ३९ वर्षपछि पहिलोपटक नेपालको अर्थमन्त्रीले प्रत्यक्ष भेटवार्ता गरेको उल्लेख गर्दै उनले त्यसबाट उच्चस्तरीय सहकार्यको नयाँ आधार तयार भएको बताए ।













