फ्लाई दुबईको पोखरा–दुबई उडान : एक महिनामा ३० उडान, ६ हजारभन्दा बढी यात्रु

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामा ६ हजार ३६२ यात्रुलाई सेवा दिएको छ। गत असोज ७ गतेदेखि पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेको कम्पनीले एक महिनाको अवधिमा ३० वटा उडान सञ्चालन गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा दुबईबाट पोखरा आउने यात्रुको संख्या चार हजार ५२१ रहेको छ । पोखराबाट दुबई जाने यात्रुको संख्या भने एक हजार ८४१ छ ।

नियमित अन्तर्राष्ट्रिय उडानको पहिलो महिनाको उपलब्धि उत्साहजनक रहेको निरौलाले बताए । नेपालीका ठूला चाड दसैँ र तिहारका कारण दुबईबाट पोखरा आउने यात्रुको संख्या बढेको र पोखराबाट जाने यात्रुको संख्या पनि वृद्धि भइरहेको उनको भनाइ छ ।

‘सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालीन हुने विश्वास गर्न सकिन्छ। यसका लागि सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवर्द्धनात्मक काम गर्नुपर्छ,’ निरौलाले भने ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताएका छन् । उनले दुबईबाट पोखरा आउने यात्रुको संख्या सन्तोषजनक रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिए । पोखरा–दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले फ्लाई दुबईको व्यवस्थापन टोलीलाई धन्यवाद दिए।

‘दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ,’ उनले भने, ‘पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न आग्रह गरेका छौँ ।’

उनले व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमण पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।

फ्लाई दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधालाई उपयोग गर्नुपर्ने उनको भनाइ छ। दुबईलाई मात्र नभई दुबई हुँदै जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन उनले अनुरोध गरे।

विमानस्थल निर्माण भएर सञ्चालनमा आएको चार वर्षसम्म व्यवसायिक रुपमा अन्तार्राष्ट्र्यि उडान नहुँदा निराश बनेका यस क्षेत्रका व्यवसायी फ्लाई दुबईको उडानले सफलता पाएसंगै उत्साहित भएका छन् । अब भने  विमानस्थलको उपयोग बढ्ने, पर्यटन प्रवर्द्धन हुने तथा व्यापार, रोजगारी र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा दुबई उडान मात्र उडान नभई पोखराको विश्व बजारमा सिधा पहुँच बढेको रुपमो अर्थ्याउँछन् । ‘उडान र सफलता एक थान उडान मात्र होइन । यसले पोखरालाई विश्वसंग सिधा रुपमा जोडेको छ । पर्यटनसहित यससंग जोडिएका विविध क्षेत्रले यसको लाभ लिएको विस्तारै अनुभव गर्नेछन्,’ उनले भने, ‘यसले विशाल सम्भावनाको ढोका खेलेको छ । अब अन्य हवाई कम्पनी र अन्य राष्ट्रसंगको कनेक्सन पनि विस्तारै बढ्दै जानेछ ।’

विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडानविहीन थियो। कहिलेकाहीँ चार्टर उडान हुने गरे पनि विमानस्थल मुख्यतः आन्तरिक उडानमा सीमित थियो ।

फ्लाई दुबईले नियमित उडान सुरु गरेसँगै पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा बढेको छ । अब पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनु, पर्यटन तथा निजी क्षेत्रसँग सहकार्य गर्नु र अन्तर्राष्ट्रिय उडानको बजार विस्तार गर्नु विमानस्थलको दीर्घकालीन सञ्चालनका लागि महत्त्वपूर्ण हुने देखिएको छ ।

  • ७ कार्तिक २०८३, शनिबार ०८:१८ प्रकाशित