काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । अधिवेशनको भोलि आइतबार काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदैछ । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नेछन् । उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेतासहित प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसलाई ऐतिहासिक महाधिवेशनका रूपमा व्याख्या गरे। उनका अनुसार महाधिवेशन प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा विभिन्न जिम्मेवारीमा आएका छन्। उनीहरूसहित चयन भएका सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
गत २८ पुस देखि ३ माघसम्म सम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि कांग्रेसको यो महाधिवेशन हुन लागेको हो । यसपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेसागत समूह तथा विदेशमा रहेका नेपालीले पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने बताइएको छ । ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल नारा तय गरिएको छ ।
महाधिवेशनमा झन्डै सात हजार पाँच सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालयले जनाएको छ। प्रतिनिधि दर्ता शुल्क तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ । असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
निर्वाचन समितिका अनुसार १९ असोजको दिउँसो २ देखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन हुनेछ । महाधिवेशनमा सहभागीका सवारीसाधन पार्किङका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्र तोकिएको छ। उद्घाटनस्थल खुलामञ्चमा सूचना सम्प्रेषणका लागि मिडिया सेन्टरसमेत स्थापना गरिनेछ ।













