पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि संघ सरकारको ध्यानाकर्षण गराएका छन् । गत साताको अविरल वर्षासँगै गण्डकी प्रदशका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परेर ३० भन्दाबढिको ज्यान गुमेको थियो भने पुल, सडक, विद्यालय, सरकारी कार्यालय र घरहरु गरि भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।
मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी ९ असोज देखि ११ असोज सम्मको बाढीपहिरोबाट गण्डकी प्रदेशका मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लामा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।
भेटका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोका कारण अवरुद्ध भएका राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । बेनी–जोमसोम–कोरला सडक, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेँसीसहर–मनाङ सडक लगायतका सडकमा ठूलो क्षति पुगेकाले तत्काल मर्मत तथा पुनर्निर्माण आवश्यक रहेको तर्फ उनले संघ सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘राष्ट्रिय राजमार्गमा पर्ने सडक तथा दुई जिल्ला जोड्ने मुख्य सडकका पक्की पुलदेखि सडकखण्ड नै पहिरोले बगाएको छ ।, झोलुङ्गे पुलहरुपनि धेरै ठाउँमा बगेको छ, चाडपर्वको समय नजिकिँदै गर्दा सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सकिएन भने दशैँका बेला नागरिकले ठूलो सास्ती व्यहोर्नुपर्ने अवस्था आउन सक्छ,’ मुख्यमन्त्री पाण्डेले भने ।
प्रादेशिक सडक तथा तत्काल मर्मत गर्नुपर्ने वैकल्पिक सडकमा प्रदेश सरकारबाट काम अघि बढिरहेको जानकारी दिँदै उनले राष्ट्रिय राजमार्ग तथा संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने सडक र पुलको मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार विकासमन्त्री लम्सालसँग आग्रह गरे ।
मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति गण्डकी प्रदेशमा भएको भन्दै क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्राथमिकताका साथ राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । मानविय क्षतिसँगै सरकारी संरचना, सडक, पुल, विद्यालयलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेकाले प्रदेश र स्थानीय तहलाई पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिदिन पनि उहाँले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराए ।
यसैगरी, भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उत्तरी नाकामा ठूलो क्षति पुगेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले वैकल्पिक नाकाका रूपमा गण्डकी प्रदेशको मुस्ताङ स्थित कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन संघ सरकारसँग आग्रह गरेका छन् ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा अन्तःशुल्कलगायतका विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री लम्सालले राष्ट्रिय राजमार्गमा बाढीपहिरोका कारण पुगेको क्षतिको मूल्यांकन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी मर्मत तथा पुनर्निर्माणको काम छिटो अघि बढाउने उल्लेख गरे ।













