पोखरा ।
स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकलविरुद्ध कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले १६ असोजको राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरकी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले तालचोक क्षेत्रबाट सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यस्तै, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड र राष्ट्र बैंकचोक क्षेत्रबाट एकवटा, वडा प्रहरी कार्यालय बगरले नदीपुर क्षेत्रबाट एकवटा तथा वडा प्रहरी कार्यालय रामबजारले अमरसिंहचोक क्षेत्रबाट दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ८ सय ८२ वटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।
स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण ध्वनि प्रदूषण बढ्नुका साथै सर्वसाधारणलाई आवागमन र दैनिक जनजीवनमा असहज हुने गरेको गुनासो आउने गरेको छ । यस्ता गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले चेकजाँच तथा कारबाहीलाई निरन्तरता दिएको छ ।














