राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै पालिका तथा वडामा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने निर्णय गरेको छ । यस्तै, बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टी हित विपरीतका गतिविधिलाई निरुत्साहित गर्न वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए । यस्तै संवाद शुरु नभएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्यको लागि बैठकले आह्वान पनि गरेको छ । साथै हालसम्म पार्टीमा समावेश भइसकेका र हुने व्यक्ति, समुहलाई सहमति अनुसारको जिम्मेवारी दिइने निर्णय समेत भएको छ ।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरु र प्रदेश कार्य समिति अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकले पार्टीको केन्द्रीय कार्यसमिति बैठक फागुन ११ गते बुधबार काठमाडौंमा बस्ने निर्णय गरेको छ ।

  • २७ माघ २०७८, बिहीबार १७:२० प्रकाशित