स्याङ्जाको चापाकोटमा नहरमा डुबेर ८२ वर्षीय वृद्धको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

Symbolic picture

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीस्थित ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा डुबेर एक वृद्धको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा चापाकोट नगरपालिका–८ माडी निवासी ८२ वर्षीय यमबहादुर महत क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहीबार साँझ करिब ५ बजे आफ्नै घरबाट करिब ८ सय मिटर पश्चिममा रहेको छोरीको घरतर्फ जाने क्रममा उनी अचानक चिप्लिएर सिँचाइ नहरमा खसेका थिए । नहरमा डुबेको अवस्थामा भेटिएका उनको घटनास्थलमै ज्यान गुमेको प्रवक्ता अवस्थीले बताए ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चापाकोट र प्रहरी चौकी रत्नपुरबाट प्रहरी सहायक निरीक्षकसहित सातजनाको टोली घटनास्थल पुगेको थियो । क्षेत्री आफ्नी श्रीमती, छोरा र बुहारीसँगै घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरी प्रवक्ता अवस्थीले जानकारी दिए ।

  • १ आश्विन २०८३, बिहीबार १९:१७ प्रकाशित