पोखरा ।
पोखराको ग्लोबल कलिजियट स्कुलले बाढी प्रभावितको राहत तथा उद्धारका लागि १० लाख ३ हजार ७०५ रुपैयाँ हस्तान्तरण गरेको छ । रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयले सो रकम राहत कोषमा जम्मा गर्नेगरी प्याब्सन कास्कीलाई हस्तान्तरण गरेको हो ।
विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यालयका विद्यार्थीबाट ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीबाट ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट ३ लाख ५० हजार गरी कुल १० लाख ३ हजार ७०५ रुपैयाँ संकलन गरिएको हो । सो रकम हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी र प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमलाई हस्तान्तरण गरिएको प्राचार्य पन्तले जानकारी दिए ।
हिसान कास्कीमार्फत ६ लाख ७० हजार तथा प्याब्सन कास्कीमार्फत ३ लाख ३३ हजार ७०५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा पठाउने व्यवस्था गरिएको प्राचार्य पन्तले बताए । यसैबीच विद्यालयले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको सकुशल खोजी तथा उद्धारको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्राचार्य पन्तले विपद्को यस घडीमा शिक्षण संस्था केवल पठनपाठनमा सीमित नभई सामाजिक र मानवीय उत्तरदायित्वमा पनि अग्रसर हुनुपर्ने उल्लेख गरे ।
यस सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति विद्यालयले कृतज्ञता व्यक्त गरेको छ। विपद्को समयमा विद्यार्थीबाट समेत स्वस्फूर्त रूपमा सहयोग जुट्नु र विद्यालय प्रशासन तथा शिक्षक–कर्मचारीले समेत उल्लेख्य योगदान गर्नु ग्लोबल कलिजियट स्कुलको मानवीय र सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक उदाहरण बनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सानो–सानो सहयोग जोडेर ठूलो राहत कोष निर्माण गर्न सकिन्छ भन्ने सन्देशसमेत विद्यालय परिवारको यस पहलले दिएको छ।’











