चीनको सिजाङ स्वायत्त क्षेत्रद्वारा नेपाललाई बेलिब्रिज हस्तान्तरण

केन्द्रभाग मिडिया

ल्हासा।

हालै आएको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्नका लागि चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपाललाई १०० मिटर लम्बाइका दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण गरेको छ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेलिब्रिज उपलब्ध गराउन चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँग आग्रह गरेको थियो।

सोही आग्रह अनुसार सिजाङ स्वायत्त क्षेत्र सरकारले ती सामग्रीहरू हस्तान्तरण गरेको हो। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिजाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गर्दै एकापसमा आदानप्रदान गरेका छन्। कार्यक्रममा नेपाली महावाणिज्य दूतावास तथा सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।

बेलिब्रिजका सामग्रीहरू आज माथिल्लो मुस्ताङको कोरला (लिजी) सीमा बिन्दुमा आइपुगेका छन्। नेपाल पक्षले आजै ती सामग्रीहरू बुझ्नेछ।

यसका साथै चीन पक्षले पुलको प्रभावकारी र सहज जडानका लागि प्राविधिक जनशक्ति पनि उपलब्ध गराएको छ। ती प्राविधिकहरू छिट्टै नेपाल आइपुग्नेछन्।

पुलका लागि पठाइएका सामग्रीहरूमा बेलि प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेलि पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बिम, च्यानल स्टिल र पाइप वेल्डिङका सामानहरू रहेका छन्।

  • १९ भाद्र २०८३, शुक्रबार १५:१३ प्रकाशित