काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरी काम गर्ने निर्णय गरेको छ ।
आजको सचिवालय बैठकमा उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोजी, उद्धार, राहत तथा सरकारी कार्यप्रगतिको जानकारी गराएका थिए । विपद् व्यवस्थापन तथा राहतका लागि सरकारको कोषमा हालसम्म ८ अर्ब रुपैयाँ संकलन भएको जानकारी प्राप्त भएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए ।
सीमित स्रोतसाधनका बाबजुद सरकारले उद्धार र राहतमा देखाएको अगुवाइ र तदारुकताप्रति सचिवालय बैठकले सन्तोष व्यक्त गर्दै धन्यवाद दिएको उनको भनाइ छ ।
खोजी र उद्धारलाई निरन्तरता दिँदै अब प्रभावितहरूको पुनःस्थापनातर्फ पनि सँगसँगै तयारी अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र राजनीतिक दलहरूले देखाएको ऐक्यबद्धताबारे ब्रिफिङ गरेका थिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने पार्टीको निष्कर्ष रहेको उनले बताए । साथै रास्वपाले तीनै तहका सरकारलाई दरिलो र पूर्ण साथ दिने निर्णय गरेको छ ।












