काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो ।
अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेका, बुझेका र गर्नुपर्ने विषयमा सुझाव दिन प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेको जानकारी दिए ।
‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं,’ प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा उनले भने ।
अध्यक्ष घिसिङ नेतृत्वको टोलीले प्रधानमन्त्री बालेनलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गर्नुपर्ने कामबारे सुझाव दिएको छ ।
‘हामीले लिखित र मौखिक सुझाव दिएका छौं,’ उनले भने, ‘अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट विषयमा हामीले समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ ।’
भेटमा प्रधानमन्त्री बालेनले जलविद्युत् आयोजनाका सुरूङभित्र फसेका नागरिकको उद्धारबारे जिज्ञासा राखेको पनि अध्यक्ष घिसिङले जानकारी दिए ।
‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ उनले भने, ‘त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं ।’
घिसिङ नेतृत्वको टोलीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि गर्नुपर्ने कामबारे बताएपछि प्रधानमन्त्रीले पनि जुन सुकै अवस्थामा पनि उद्धारको काम अघि बढाउने जवाफ दिएका थिए ।













