जय नेपाल पार्टीले गर्‍यो बाढी पीडितको उद्धारका लागि साढे ६ लाख सहयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।

पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट ठुलो मानवीय क्षति भएको कठिन घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसैबिच, निर्वाचन आयोगमा दर्ता कायम रहेको राष्ट्रिय एकता मञ्च जय नेपाल पार्टीमा विधिवत् समायोजन भएको छ । पार्टी सभापति डा.धवलशम्सेर राणाले राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्रलाल जोशीलगायत पदाधिकारीलाई पार्टीमा स्वागत गरेका छन् ।

त्यस्तै, केन्द्रीय सदस्य तथा सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीको अध्यक्षता तथा सभापति राणाको प्रमुख आतिथ्यमा बसेको केन्द्रीय विभाग तथा समितिका संयोजकहरूको बैठकले आगामी १५ दिनभित्र विभाग तथा समितिलाई पूर्णता दिने निर्णय गरेको छ ।

बैठकले २५ दिनभित्र विभाग तथा समितिहरूले आ–आफ्नो कार्ययोजना पेस गर्ने निर्णयसमेत गरेको छ । पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

  • १७ भाद्र २०८३, बुधबार १६:५१ प्रकाशित