काठमाडौं ।
आज सर्वदलीय बैठक बस्दैछ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघिको बैठकमा दलहरूबिच विपद्को दिगो समाधान र पूर्वतयारीका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । यस प्रक्रियालाई अघि बढाउने विषयमा पनि आज छलफल हुने बताइएको छ ।











