काठमाडौं ।
नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।
जिल्ला तथा गाउँ–गाउँमा रहेका बेपत्ताका घटनाहरू सांसदमार्फत संसद्मा उठाउन र त्यसको समाधानका उपाय पहिल्याउन संसद् सञ्चालन आवश्यक रहेको उनले बताइन् ।
बैठकले राहत कार्यमा सहयोग पुर्याउन कांग्रेसका सबै सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । साथै, अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारसँग आग्रह गरिएको प्रमुख सचेतक थापाले जानकारी दिइन् ।
त्यस्तै, कांग्रेस सचेतक निष्कल राईले वास्तविक पीडित र आवश्यक परेका मानिसले राहत पाउन नसकेको बताएका छन् । राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
सरकारले अघि सारेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको राईले बताए ।
सचेतक राईले शव व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल विषय भए पनि आवश्यक उपकरणको अभाव रहेको उल्लेख गरे । पीडित परिवारको पीडा र परम्परागत संस्कारलाई ध्यानमा राख्दै सुरक्षित तथा मर्यादित रूपमा शव व्यवस्थापन गर्न विज्ञहरूसँग सल्लाह लिएर अघि बढ्न सरकारसँग आग्रह गरिने उनको भनाइ छ ।












