काठमाडौं।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउन ड्रोन उडाउन अनुमति लिनु नपर्ने र हेलिकोप्टरलाई विभिन्न माध्यमबाट सङ्केत दिन सकिने विशेष व्यवस्था गरेको छ ।
बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सङ्कटग्रस्त घोषित ६ जिल्लामा उद्धारका लागि कसैसँग ड्रोन भएमा बिना अनुमति उडाउन सकिने जानकारी दिए । उद्धारमा सहयोग गर्न चाहने ड्रोन सञ्चालकहरूले सरकारको हटलाइन नम्बर १२३४ मा सम्पर्क गरी समन्वय गर्न सक्नेछन् ।
यसैगरी, बाढीमा फसेका र उद्धारको पर्खाइमा रहेका नागरिकहरूलाई हेलिकोप्टरको ध्यान आकर्षण गराउन आगो बालेर धुवाँ निकाल्न समेत सरकारले आग्रह गरेको छ ।
प्रवक्ता पोखरेलका अनुसार प्रविधिको पहुँच भएका नागरिकले सहायक प्रमुख जिल्ला अधिकारीलाई ह्वाट्सएप मार्फत आफ्नो ‘जियो-लोकेसन’शेयर गरेर पनि उद्धारमा सघाउन सक्नेछन् ।
सरकारले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दै सबै सञ्चार र सुरक्षा संयन्त्रलाई उद्धारमा केन्द्रित हुन निर्देशन दिएको छ । छिमेकी राष्ट्रहरू चीन र भारतसँग पनि उद्धारका लागि समन्वय भइरहेको र ११ वटा हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रवक्ता पोखरेलले बताए ।











