हेटौँडा ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै भदौ ७ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको हो ।
भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सभाको आठौँ अधिवेशनको १८ औँ बैठकका लागि प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आइतबार दिनको १ बजेको समय निर्धारण गरेका हुन् ।
उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस हुने उनको भनाइ छ ।











