पोखरा ।
बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समस्या भएको छ ।
पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिए ।
पुल भत्किएर त्यहाँका कंक्रिट तथा अन्य संरचना फिर्के खोला पुगेकाले पानीको बहावमा समेत अवरोध पुर्याएको छ। पुलमा जोखिम देखिएपछि एक महिना अघि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।स्थानीयले तत्काल भत्किएको संरचना हटाई पानीको बहाव सहज बनाउने तथा थप क्षति राक्ने कार्य तत्काल सुरु गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
कास्कीको मादी नदीमा पनि गएराती ठूलो बाढी आएको छ । लगातारको बर्षापछि नदीमा आएको बाढीले मादीको वडा नं. १ मा निर्माणाधीन अपर मादी हाइड्रोपावरमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
नदीमा पानीको सतह बढेको र थप बाढी आउन सक्ने भन्दै नदीको तटीय क्षेत्रमा नजान र बसोबास गर्नेले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।












