भदौ २३ गते सहिदहरूको नाममा सम्बोधन गर्न प्रधानमन्त्रीलाई सांसद खतिवडाको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खत्री खतिवडाले प्रधानमन्त्रीलाई आगामी भदौ २३ गते सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सहिदका सपना र उनीहरूले सुरु गरेका कामको अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरिन् ।

सांसद खतिवडाले भदौ २३ गते सहिदहरूको नामै तोकेर सम्बोधन गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘सहिदहरूले देशका लागि पुर्‍याएको योगदान र उनीहरूका अधुरा काम कति पूरा भए, कति बाँकी छन्, त्यसको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ ।’

त्यसैगरी, उनले नयाँ पुस्ता (जेनजी)ले भ्रष्टाचारका विरुद्ध गरेको आन्दोलन र त्यसको उपलब्धिका बारेमा पनि सरकारको ध्यान आकर्षण गराइन् । ‘जेनजीले भ्रष्टाचार न्यूनीकरणका लागि ठुलो आन्दोलन गरेका थिए, तर त्यो आन्दोलनपछि भ्रष्टाचार कति न्यूनीकरण भयो त ?’ उनले प्रश्न गरिन् ।

भ्रष्टाचार अन्त्य गर्ने युवाहरूको चाहना र आन्दोलनको मर्मअनुसार सरकारले ठोस काम गर्न सकेको छ कि छैन भन्ने विषयमा पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।रासस

  • २ भाद्र २०८३, मंगलवार १२:३७ प्रकाशित