बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्यो

केन्द्रभाग मिडिया

हेटौँडा ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ । तरल अवस्थाको राजनीतिक परिस्थितीमा मुख्यमन्त्री बानियाँको राजीनामाले प्रदेशको राजनीति नयाँ मोडलाई नयाँ दिशा दिएको हो ।

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले सोमबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष राजीनामा बुझाएका हुन् । १३ महिना लामो कांग्रेस नेतृत्वको सरकार ढलेसँगै अब बागमतीमा नयाँ सरकार गठनको संवैधानिक र राजनीतिक रस्साकस्सी अघि बढेको छ ।

१०४ सदस्यीय बागमती प्रदेश सभामा नयाँ सरकार निर्माणका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर, वर्तमान दलीय संरचना र समीकरण हेर्दा कुनै पनि पक्षलाई सहज बहुमत जुटाउन सकसपूर्ण हुने देखिन्छ ।

मुख्यमन्त्रीबाट बाहिरिएका बानियाँको दल नेपाली कांग्रेससँग ३६ सांसद छन् । उता नयाँ गठबन्धन बनाउने तयारीमा रहेका एमाले (२५) र नेकपा (२६)मिल्दा पनि ५१ सांसद मात्र पुग्छन् ।

  • १ भाद्र २०८३, सोमबार १७:०३ प्रकाशित