पोखरा ।
देशको पर्यटकीय राजधानी सहर पोखराबाट संघीय राजधानी सहर काठमाडौं र काठमाडौंबाट पोखरा जोड्नेगरी पछिल्लो समय स्तरीय बस सेवा थप्ने क्रम निरन्तर चलिरहेको छ । यसैक्रममा लुम्बिनीबाट काठमाडौं स्तरीय बस सेवा दिइरहेको साकुरा होलिडेज प्रालिले आफ्नो सेवालाई पोखरा–काठमाडौं–पोखरामा समेत विस्तार गरेको छ ।
स्तरीय पर्यटक बहाक बस सेवाको सोमबार विहान पोखराको पर्यटन बसपार्कबाट नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुखर मणिराज लामिछानेले सुरुवात गराएका हुन् । बस सेवाको सुरुवात गराउँदै उनले पर्यटकीय राजधानी सहर पोखराबाट यस प्रकारका बसहरु थपिँदै जाँदा पर्यटकले थप सुविधा प्राप्त गरेको र सेवा आरामदायी बनेको बताए । उनले यस्ता बसहरु अझै थपिँदै जानुपर्ने समेत उल्लेख गरे ।
साकुरा होलीडेजका सञ्चालक राजेन्द्रकुमार पौडेलले लुम्बिनीबाट आफूले सेवा दिइरहँदा पोखराले आकर्षण जागाएकाले सेवा विस्तार गरेको बताए । पोखराबाट जाउँ है पोखरा अभियान सञ्चालन भएको र यो अभियानले मन छोएको उनको भनाई थियो । उनका अनुसार काठमाडौं सोह्रखुट्टेबाट बिहान ७ बजे र पोखरा पर्यटन बसपार्कबाट बिहान ८ बजे बसले सेवा दिनेछ । बसमा २×१ एलिट क्लासको सिट व्यवस्था छ । यात्रालाई थप आरामदायी बनाउन थाइरेस्टसहितका लक्जरी सिट जडान गरिएको उनले सञ्चालक पौडेलले जानकारी दिए । गर्मी तथा जाडो दुवै मौसममा यात्रुलाई सहज वातावरण उपलब्ध गराउन सेन्ट्रल एसीको व्यवस्था गरिएको छ ।
यात्राका क्रममा मनोरञ्जन तथा आवश्यक सूचनाका लागि टेलिभिजन, वाइफाइ, जीपीएस र म्युजिक सिस्टमको सुविधा पनि बसमा रहनेछ । अनुभवी चालक तथा परिचालकबाट सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले पोखरा, काठमाडौं र लुम्बिनीलाई पर्यटकीय गन्तव्यका रूपमा जोड्दै आन्तरिक तथा बाह्य पर्यटकको यात्रा सहज बनाउने लक्ष्य राखेको उनले बताए । ‘सुरक्षित यात्रा, आरामदायी यात्रा–साकुरा होलिडेजसँग यात्रा’ भन्ने नारासहित कम्पनीले सेवा विस्तार गरेको हो ।












